राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार (आज) रिहा हुने भएका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । आदेश जारी भएपनि कागजी प्रक्रिया पूरा नभएकाले उनी हिजो थुनामुक्त भएका थिएनन् ।
लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले उनी आज रिहा हुने भएका हुन् ।
जिल्ला अदालत, रूपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन नक्खु कारागारलाई पत्राचार गरिसकेको छ।
उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ ।
उक्त आदेशअनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखतसहित कागजी प्रक्रिया पूरा गरिनेछ ।
लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा उनी यसअघि २०८१ माघमा राखेको एक करोड रुपैयाँ धरौटी पुनः राख्नुपर्नेछ । सो धरौटी रकम यसअघि फुकुवा भइसकेको र त्यसबारे उनका कानुन व्यवसायीलाई जानकारी गराइसकिएको अदालतले जनाएको छ ।




