एमाले ११औँ महाधिवेशनको मतदान सम्पन्न, ९८.४ प्रतिशत मत खस्यो

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान बिहीबार बिहान सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार महाधिवेशनमा कुल ९८.४ प्रतिशत मत खसेको छ ।

भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान पौने ७ बजे सकिएको हो । निर्वाचन आयोगले जनाए अनुसार कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् भने ३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन् ।

मतदान प्रक्रिया निर्धारित समयभन्दा लामो समयसम्म चलेको भए पनि शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार मतगणना सुरु हुन कम्तीमा बिहान १० बज्नेछ । मतगणनाअघि आवश्यक प्राविधिक प्रक्रिया, मुचुल्का उठाउने, डाटा मिलान तथा सहमति कायम गर्ने काम भइरहेको आयोगले जानकारी दिएको छ ।

यस महाधिवेशनमार्फत एमालेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ । केन्द्रीय सदस्य पदका लागि ६ सय ४२ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले आ–आफ्नो प्यानल बनाएर निर्वाचनमा सहभागिता जनाएका छन् ।

एमालेको नयाँ नेतृत्व चयनलाई पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनासँग जोडेर हेरिएको छ । मतपरिणाम सार्वजनिक भएपछि पार्टीको आगामी कार्यदिशा स्पष्ट हुने अपेक्षा गरिएको छ ।