मधेश प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्ने आज अन्तिम दिन भएपनि अझै गठबन्धन दलहरूबीच सहमति जुट्न सकेको छैन ।
मुख्यमन्त्री पदबाट सरोजकुमार यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनका यतिबेला एमाले बाहेकको सात दलीय गठबन्धनका नेताहरूले छलफलमा जुटेपनि सहमति जुट्न भने सकेको छैन ।
बिहीबार नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू छलफलमा बसेपनि सहमति भने जुट्न सकेको थिएन ।
नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले मधेस प्रदेशमा सरकारको नेतृत्वमा दाबी नछाडेपछि सात राजनीतिक दलबीच सहमति जुटन् नसकेको हो ।
मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मुख्य दाबेदार देखिएका छन् । यादव र सोनल दुवैले विभिन्न दलहरूसँग संवाद पनि अघि बढाएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए । जसअनुसार आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।
गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा मुख्यमन्त्री पदको शपथ लिएर विवादित बनेका यादवलाई सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठन गर्न आदेश दिएको थियो ।
तर उनले विश्वासको मत लिन नसक्ने भएपछि १७ मंसिरमा राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख कर्णले नयाँ सरकारमा दाबी पेश गर्न आह्वान गरेका थिए ।




