रवि र छविको मुद्दामा आज सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा आज (बुधबार) उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

गत हप्ता, लामिछाने पक्षका वकिलले निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको थियो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रातोपाटीसँग भने, “गत हप्ता रोकिएको मुद्दामा आज पेसी तोकिएको छ, अब के निर्णय हुन्छ हेर्न बाँकी छ।”

बुटवलको सुप्रिम सहकारी ठगी मामलामा, लामिछाने थुनामा रहँदा आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो रकम अदालतमा पेश गरेका थिए। तर, संपूर्ण १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम भएकाले जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको थियो। जोशीले पनि आफ्नो भागको जमानत पेश गरेका छन्।

हाल, रवि काठमाडौं कारागारमा र जोशी भैरहवा कारागारमा छन्। अदालतले दुवैको रिहाइबारे निर्णय लिन बाँकी रहेको छ।