एमालेले संसद पुनर्स्थापनाका लागि दायर गरेको रिटको पेशी मंसिर १७ गते

संसद् पुन:स्थापनाको पक्षमा उभिएको नेकपा एमालेले विघटनको साढे दुई महिनापछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। रिट निवेदनमा १७ मंसिरका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

एमाले नेता महेश बर्तौलाले मंगलबार पेस गरेको रिट आज (बुधबार) दर्ता भएको हो। २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिकहाँ पेस गरेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले गरेको संसद् विघटनको प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा अनुमोदन गरेका थिए।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ। संसद् पुन:स्थापनाको पक्षमा सर्वोच्च अदालतमा यसअघि नै १७ वटा रिट दर्ता भइसकेका छन्। १२ कात्तिकमा सर्वोच्चले संसद् विघटनसम्बन्धी १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो।