नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गरिरहेको पक्षले काठमाडौंको राष्ट्रिय सभागृहमा आज विशेष भेला आयोजना गरेको छ।
भोलि मंसिर ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनको मिति तोक्नुपर्ने भन्दै नेताहरूले नेतृत्वलाई दबाब दिएका छन्।
राष्ट्रिय सभागृहमा जारी भेलामा बोल्ने अधिकांश नेताहरूले पार्टी विधानको व्यवस्था अनुसार तत्काल विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूले भोलि बस्ने केन्द्रीय समितिको बैठकबाटै विशेष महाधिवेशनको मिति घोषणा हुनुपर्ने माग राखेका छन्।
भेलामा कांग्रेसका पुराना पुस्ताका नेता, विभिन्न जिल्लाका सभापतिहरू तथा नयाँ पुस्ताका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ। नेतृत्वले विधान मिचेको र पार्टीलाई अनिर्णयको बन्दी बनाएको भन्दै वक्ताहरूले आक्रोश पोखेका छन्।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४ सय ९९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहितको लिखित माग यसअघि नै पार्टी कार्यालयमा दर्ता गराइसकेका छन्।





