जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।
जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ। त्यसैगरी, पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड, ब्यानरसहित मङ्सिर १९ र २१ गते जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडी शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मङ्सिर २७ गते देखि पौष ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा/जनसभा आयोजना गर्ने बताइएको छ।
जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते विरगंज, र पुस १७ गते भैरहवामा तय गरिएको छ। यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरू पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन्।





