नेकपा एमालेले ११औँ महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।
मंसिर २७ देखि २९ गतेसम्म चल्ने महाधिवेशनका उद्घाटन तथा समापन कार्यक्रम यही स्थलमै हुने पार्टी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
करिब २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रमुख एजेन्डा रहनेछ ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सो पदका लागि दाबी गर्ने संकेत देखाएका छन् ।





