मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज आफ्नो पदभार ग्रहण गरेका छन्।
मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णयका रूपमा मधेस आन्दोलनका शहीदहरूलाई ‘मधेस रत्न’ ले सम्मानित गर्ने घोषणा गरेका छन्। उनले देशमा सङ्घीयता स्थापना गर्न शहीदहरूको भूमिका सबैभन्दा माथि रहेको भन्दै शहीदका परिवारलाई ससम्मान सम्मानित गर्ने बताए।
निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ ग्रहण गराएदेखि मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका थिएनन्। जेनजी आन्दोलन मा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेस भवनभित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ।
मुख्यमन्त्री यादवले आज बिहानसम्म प्रदेशका सचिवलाई पहिलाकै कार्यालय मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन निर्देशन दिए पनि आज बेलुका उनले मधेस भवनभित्रैको अस्थायी कार्यालयमा पदभार ग्रहण गरेका छन्।
मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहेका बेला मधेस भवन बाहिर तीव्र विरोध प्रदर्शन र नाराबाजी भएको थियो। जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले मधेश भवन अगाडि नाराबाजी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए। सो क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीहरूबीच झडप समेत भएको थियो।





