मधेश प्रदेशमा नेकपा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले आज बिहान सबेरै मुख्यमन्त्रीको शपथ लिएका एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा ४ सदस्यीय मन्त्रिमण्डल गठन भएको हो ।
सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् ।उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बीच बाटोमै बर्दिबासको एक होटलमा शपथ खुवाएपछि उनको चर्को आलोचना भइरहेको छ ।





