मधेशको मुख्यमन्त्रीमा एमालेका सरोज यादव नियुक्त, होटेलमा गराईयो सपथ ग्रहण

मधेस प्रदेशको राजनीतिमा नाटकीय मोड आएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान सिन्धुलीको एक होटेलमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी छन्।

नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादव नयाँ मुख्यमन्त्री बनेका हुन्।

शपथ ग्रहणपछि मुख्यमन्त्री यादवले भने, “मैले भर्खरै पद तथा गोपनीयताको शपथ लिएको छु। जनकपुरमा अवस्था सहज थिएन, विरोध प्रदर्शन भइरहेको थियो। त्यसैले शपथ कार्यक्रम सिन्धुलीमा राखिएको हो।”

केही दिनअघि मात्र विश्वासको मत नपाउने अवस्था आएपछि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका थिए। सोनलले प्रदेश प्रमुख भण्डारी स्वास्थ्य उपचारका लागि काठमाडौँ जान जनकपुरबाट निस्किएको बताएका थिए। तर, बाटोमै सिन्धुली–महोत्तरी सीमाको होटेलमा शपथ गराएको भन्दै उनले कडा आपत्ति जनाएका छन्।

सोनलले सामाजिक सञ्जालमा लेखेका छन् : “मधेस प्रदेशको जनतासँग ठूलो धोका भएको छ। स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सीमामा एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल खेलिन्। एकातिर महिला, अर्कोतिर स्वास्थ्यको कुरा गरेर धोका दिइयो।”