शिक्षक दलीय गतिविधिमा आवद्ध भए बर्खास्त गर्ने मन्त्री पुनको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ।

‘विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु ।’ विज्ञप्तिमा भनिएको छ ।

साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ।

‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ। कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।’ विज्ञप्तिमा उल्लेख छ ।