नेकपा एससँग एकता गर्ने निर्णयमा जनार्दन शर्माको आपत्ति

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०सँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिएका छन् ।

शनिवार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा उनले सो कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिएका हुन् ।

पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई ओझेलमा पार्नेगरी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एससँग पार्टी एकता गर्ने कुरालाई अघि बढाएको र त्यसले पार्टीलाई कुनै पनि हालतमा हित नगर्ने उनको जिकिर थियो ।

नेता शर्माले अध्यक्ष दाहालले नेकपा एससँग माओ विचारलाई परित्याग हुनेगरी जनताको बहुदलीय जनवादको आधारभूत कुराहरूमा अघि बढ्ने सहमतिसहित अघि बढेकाले त्यसमा आफूहरू सहमत हुन नसक्ने समेत बताए ।

उनले भने ‘अहिले सचिवालयको बैठक आफ्नो भनाइहरू राखेर म आएको छु । विशेष गरी अहिले जो एकताको कुरा गरिएको छ । हाम्रो पार्टीले अघिल्लो वर्षको केन्द्रीय कमिटी बैठकमा मङ्सिर भित्र महाधिवेशन सम्पन्न गर्ने भन्ने निर्णय थियो । त्यो महाधिवेशनलाई छलफल गर्ने प्रयत्न गरियो । पछिल्लो जेनजी आन्दोलन पश्चात् बसेको केन्द्रीय कमिटीले फेरी पनि महाधिवेशन गर्ने निर्णय गयो । त्यो निर्णयलाई छल्न त्यो निर्णयबाट वैचारिक बहसलाई अगाडि बढ्न नदिन प्रतिस्पर्धाबाट नयाँ पुस्ताको नेतृत्वलाई निर्वाचित हुन नदिनका लागि यो यो एकताको छलफल गरियो । अहिलेको यो एकताले वर्तमान राजनीतिको समस्यालाई पनि हल गर्दैन । विभिन्न पार्टी फुटाएर टुक्रा टुक्रालाई जोडेर यो एकता पनि हुँदैन । मेरो के कुरा थियो भने समग्रतामा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नेगरी बृहत् अभियान चलाउने, बृहत् रूपमा बहस गर्ने, एउटा लामो समय लिएर हामी त्यहाँ पुग्न सक्छौ भन्ने मेरो आफ्नो मान्यता हो । त्यो मान्यता विपरीत आफ्नो आफ्नो भएको पार्टीलाई तलतल मान्छे लगाएर टुटाउने, फुटाउने, गुटबन्दी गराउने, अनि आफ्नो भएकोलाई संरक्षण नगर्ने अनि बाहिरबाट अरू फुटाएर ल्याएर जोड्ने त्यो पनि हजारौँको कमिटी बनाउने गरी । यसरी कम्युनिस्ट पार्टी अगाडि बढ्न सक्दैन भनेर मैले आफ्नो कुरा राखे नम्बर १ । दोस्रो माओवादी पार्टीको विचार माओवाद हो । माओ विचार र माओवादलाई छोडेर बहुदलीय जनवादका आधारभूत कुराहरूमा हामी आत्मसमर्पण गर्न सक्दैनौ । यो आत्मसमर्पणमा जान्छ । वैचारिक रूपमा आत्मसमर्पण । यो हामीलाई स्वीकार्य छैन । तेस्रो कुरा आज जेनजी आन्दोलनले उठाएको कुरा के थियो भने उसले सुशासनको कुरा उठाएको छ । भ्रष्टाचार अन्त्यको कुरा उठाएको छ । तर हामीले एकता गर्दाखेरि त्यसको संवेदनशीलतालाई बुझ्ने होइन, त्यसलाई प्रश्रय दिने खालले एकता गर्न खोजिँदै छ । त्यो भारी माओवादी पार्टीले बोक्न सक्दैन । त्यो भारी बोक्ने कुरा मलाई मान्य छैन । नेतृत्व हस्तान्तरण गर्ने कुरालाई पूरै अस्वीकार गर्दै जसरी यहाँ फेरी पनि मनोनीत गरेर आफ्नो सुरक्षा घेरा बनाउने जो प्रयत्न भएको छ । यो कुराले यो पार्टीलाई अघि बढाउन सक्दैन भन्ने कुरालाई राखेर म यो बैठकबाट निस्केको छु ।’

नेता शर्माले अध्यक्ष दाहालले महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पुर्याउन पनि नेकपा एससँग एकता गर्न लागेको भन्दै आपत्ति समेत जनाए ।