रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा

जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ । बमले शुक्रबार सामाजिक सञ्जालमार्फत २१ पृष्ठको दस्तावेज जारी गर्दै उक्त मोर्चा गठन गरिएको जानकारी दिएकी हुन् ।

उनका अनुसार २३ र २४ भदौमा भएको ‘जेनजी विद्रोह’लाई संस्थागत गर्दै राज्यसँग सम्झौता गर्ने एजेन्डा एकीकृत गर्नु फ्रन्टको मुख्य उद्देश्य हो। फ्रन्टमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति), ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहतालगायत सदस्य छन्।

जारी विज्ञप्तिअनुसार, यो समूह राजनीतिक विचार मिल्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्न गठन गरिएको प्रारम्भिक संयोजन हो । साथै, काठमाडौंसहित देशका विभिन्न भागमा जेनजी विद्रोहमा सक्रिय रहेका युवाहरूलाई यसमा जोडिन आह्वान पनि गरिएको छ।

संगठन समितिका संयोजक युजनराज भण्डारीका अनुसार फ्रन्टले संघीय संरचनामा काम गर्ने योजना बनाएको छ र प्रदेश तथा जिल्ला समितिहरू पनि चाँडै घोषणा गरिनेछन्।