खगेन्द्र सुनारलाई धरौटीमा छोड्न आदेश

काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहीबार खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ। न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिएकी हुन् ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द अभिव्यक्ति दिएको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए ।

अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा सुनारमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएका कारण ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेका कारण प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतमा २०८२ सालको साउनमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो । पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा सुनारको नाम समेत सिफारिस भएको थियो । सुनारमाथि विभिन्न मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।