नेपाल बन्दका क्रममा तोडफोड वा आगजनी जिम्मेवार हुदैनौ : दुर्गा प्रसाईं

‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि आह्वान गरिएको नेपाल बन्दका क्रममा कसैले बन्द उल्लंघन गरेर तोडफोड वा आगजनीको सामना गर्नुपरे आफ्नो अभियान जिम्मेवार नहुने चेतावनी दिएका छन्।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने तर बन्दको अवज्ञा गर्नेलाई केही भए त्यसको जिम्मेवारी स्वयं व्यक्तिले लिनुपर्ने बताए।

‘हाम्रो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर-व्यवसाय तोडफोड गर्ने किसिमको होइन,’ प्रसाईंले भने, ‘तर, भोलि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गर्दा कसैले बन्द उल्लंघन गर्छ, पसल खोल्छ भने त्यहाँ तोडफोड भयो, गाडी फुटाइयो, आगो लगाइयो भने त्यसको जवाफदेही हाम्रो अभियान हुँदैन।’

उनले आफ्नो आन्दोलन जेन-जीको जस्तो नहुने पनि स्पष्ट पारे। गत भदौमा भएको जेन-जी आन्दोलन सुरुको दुई घण्टामात्रै वास्तविक भएको तर त्यसपछि विदेशी शक्तिले हाइज्याक गरेर सत्ता हत्याउने खेल भएको उनको आरोप थियो।

‘भदौ २३ र २४ गतेको आन्दोलन दुई घण्टामात्रै जेन-जीको थियो, त्यसपछि विदेशीको हातमा गयो र सत्ता हत्याउने खेल भयो। हाम्रो आन्दोलन त्यस्तो हुँदैन,’ उनले भने।