सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुँदै

आगामी निर्वाचनको वातावरण निर्माणका लागि सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय छलफल हुँदैछ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल हुन लागेको हो ।

सरकारले छलफललाई फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै पक्षको सहकार्य सुनिश्चित गर्ने अवसरका रूपमा लिएको छ ।

प्रधानमन्त्री कार्कीका सचिवालयका अनुसार छलफलमा राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका अगुवाहरू सहभागी हुनेछन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै मन्त्रीहरू सहभागी हुनेछन् ।

बैठकबाट आगामी निर्वाचनका तयारी, शान्ति सुरक्षाको अवस्था र जेनजीले उठाएका विषयबारे साझा समझदारी बनाउने प्रयास हुने जनाइएको छ ।

निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल भएको थियो ।