वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहालले देशमा देखिएका राजनीतिक जटिलता, जनअपेक्षा र राष्ट्रिय स्वाधीनतामाथि देखा परेका चुनौती समाधान गर्न वामपन्थी शक्तिहरूबीच संगठनात्मक एकता र सहकार्यको आवश्यकता औंल्याएका छन्।

 दाहालले  वक्तव्य जारी गर्दै भनेका छन्, ‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।’

उनले देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य भएको उल्लेख गरे।

संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र समाजवादको आधार तयार पार्न वाम शक्तिहरूबीच एकता आवश्यक रहेको बताउँदै दाहालले भने, ‘म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु।’

त्यस्तै, उनले गणतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय एकताको साझा मोर्चा निर्माण गर्न पनि आह्वान गरे।