स्वास्थ्यमन्त्रीले रुँदै भनिन् : जेन जी आन्दोलन खेर नजाओस्

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले जेन जी आन्दोलन खेर जान नहुने बताएकी छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा जेन जी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेकी उनले यस्तो बताएकी हुन्।

अवलोकनका क्रममा घाइतेहरूसँग भेट्दा मन्त्री गौतम भावुक बनिन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आँसु झार्दै भनिन्, ‘घाइतेहरुलाई देख्दा साँच्चिकै गाह्रो भयो। यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ। जसले सरकारको विरोध गर्नु हुन्छ वा चुनाव भाड्न खोज्नु हुन्छ, त्यो कहिले पनि नगर्नुस्, म अनुरोध गर्न चाहन्छु।’ उनको भावुकता देखेर उपस्थित सबै भावुक भए ।

उनले तोकीएकै मितीमा निर्वाचन गराउन सरकार लागिपरेको भन्दै निर्वाचनको तयारीमा लाग्न समेत सवैलाई आग्रह गरिन् । मन्त्री गौतमले जेन जी आन्दोलनको मर्म र भावना अनुसार आँफूले आफ्नो कार्यकाल पुरा गर्ने समेत बताईन् ।