सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “युवा पुस्ताको आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई शान्ति र स्थायित्वमा रूपान्तरण गर्न सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र नेपाली जनताबीचको साझा सहकार्य आवश्यक छ, युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजलाई सम्बोधन गर्न हामी सबैको साझा प्रतिबद्धता अपरिहार्य छ ।”
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै यो पर्वले समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक विभेद र विसङ्गतिको अन्त्य गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने अपेक्षा गरेका छन् ।
उनले भनेका छन्, “सूर्यदेवको आराधना र छठी माताको कृपाले हामी सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”





