विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई सुधार्न राजनीतिकरण अन्त्य गर्ने गरी मस्यौदा तयार पारिने बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले कुलपतिहरूसँग भएको छलफलमा विश्वविद्यालय अनुदान आयोगमार्फत सुधारका उपायहरूमा जोड दिइएको जानकारी दिए ।

‘कुलपतिहरूसँग छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोगअन्तर्गत विश्वविद्यालयहरूलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्नुपर्ने सुझाव आएको छ । यसको मस्यौदा चाँडै तयार पार्नेछौँ ।’

मन्त्री पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रचलन पनि अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।‘हाल कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ । अब यो प्रथा हटाई नयाँ संरचना लागू गर्नुपर्छ । यसबारे थप छलफल जारी छ,’ उनले थपे ।