नेकपा (एकीकृत समाजवादी)ले आगामी कात्तिक ११ गतेका लागि पोलिटब्युरो बैठक बोलाएको छ ।
पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार उक्त बैठकपछि कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्नेछ ।दुवै बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा आयोजना हुने तय भएको छ । बैठकमा जेन–जी विद्रोहपछिको समसामयिक राजनीतिक परिस्थिति, सम्भावित पार्टी एकता र आगामी निर्वाचनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।
यसबीच पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि नेतृत्व हस्तान्तरणको दबाब आन्तरिक रूपमा बढ्दै गएको बताइन्छ । यद्यपि, अध्यक्ष नेपाल तिहारपछि माओवादी केन्द्रलगायत समाजवादी मोर्चाका दलहरूसँग एकताको तयारीमा रहेका छन् । तर, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू माओवादीसँग एकता गर्ने पक्षमा छैनन् । उनीहरूले एकता होइन, पार्टी पुनर्गठन गरी आगामी निर्वाचनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि माओवादीसँग एकताको प्रस्तावबारे प्राथमिक छलफल भएको थियो । यसका साथै भर्खरै सम्पन्न एमाले केन्द्रीय समिति बैठकमार्फत केपी शर्मा ओलीले माधव–झलनाथलाई मूलघर पार्टीमा फर्किन आग्रह गरेका छन् । यसबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।





