अहिलेको सरकार  कुन दिन घुप्लुक्क ढल्ने हाे, ग्रह दशा हेराएर बस्नु :  केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  अहिलेको सरकार असंवैधानिक सरकार भएको बताउनुभएको छ ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी प्रक्रिया पुरा गरेर जनताबाट निर्वाचित भएको संसद् र सरकारलाई फालेर असंवैधानिक सरकार बनेको बताउनुभयो । अहिलेको सरकार क्रान्तिबाट होइन प्रतिक्रान्तिबाट बनेको उहाँले दाबी गर्नुभयो । ‘यो असंवैधानिक सरकार हो, कुन संविधान अन्तर्गत बनेको छ ?, यो प्रतिगमन हाे, प्रतिगमनलाई सच्याउनु पर्दछ, प्रतिनिधि सभा यथाशीघ्र पुनर्स्थापित हुनुपर्दछ’, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले हाल देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको बताउँदै सरकारले त्यसको विरोधमा उभिएको बताउनुभयो ।  देशमा आतङ्क फैलिँदै जाँदा सरकारले त्यसलाई नियन्त्रण गर्नुभन्दा शान्तिको पक्षमा बोल्नेप्रति नै रिस प्रकट गरिरहेको  उहाँको भनाइ छ ।

उहाँले पछिल्ला दिनहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाप्रति आक्रोश व्यक्त गर्दै यस्तो अस्थिरता फैलाउने गतिविधि अस्वीकार्य भएको बताउनुभयो । ‘सामान लुट्दै–चोर्दै भाग्न हुँदैन भनेको सुनेर सरकार रिसायो होला ? आगो लगाउनु हुँदैन भनेकोमा रिसायो होला ? शान्तिको कुरा गरेको सुनेर रिसायो होला ? सरकारलाई रिस उठे पनि, जसलाई उठे पनि म भन्न चाहन्छु-यो देशमा नेकपा एमाले पनि छ, हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण र स्थिर राष्ट्रको रूपमा परिणत गरेरै छाड्छौँ’, उहाँले भन्नुभयो ।

अहिलेको सरकार एउटा भुल्को मात्र भएको उहाँले बताउनुभयो । देशको एक प्रतिशत जनता भनेका ३ लाख भएको बताउँदै उहाँले यो सरकारलाई १ प्रतिशत जनताको पनि समर्थन नरहेको बताउनुभयो । ‘यो म्याद नतोकिएको म्यादी सरकार हो’, उहाँले भन्नुभयो ।

अहिलेको सरकार कुनै जग नभएको सरकार भएको बताउँदै ओलीले सरकार कुनै पनि बेला पुकलुक्क ढल्ने बताउनुभयो । जेनजीका कलिला बच्चाको टाउकोमा दोष थोपरेर अहिले केही मानिसहरू सरकारमा पुगेको उहाँले दाबी गर्नुभयाे । ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबारमा आगो लगाउने काम जेनजीले कदापि गर्न सक्दैन’, ओलीले भन्नुभयो ।

उहाँले सकारमा रहेकालाई ग्रह दशा हेराएर बस्न आग्रह गनुृभयाे । ‘कुन दिन घुप्लुक्क ढल्ने हाे, ग्रह दशा हेराएर बस्नु’, उहाँले भन्नुभयाे ।