नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि बस्दै

विगत चार दिनदेखि ललितपुरको सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि बस्दैछ। आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ। 

असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु  हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बिहीबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे बोलेका थिए। त्यसैगरि महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए। 

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू डा.शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल, नृपबहादुर वड लगायतले बोलेका थिए। 

हिजोको केन्द्रिय समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ। 

बैठकमा बोल्ने सबै सदस्यले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेका थिए।

सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको, आम नागरिकले पूर्ण रुपमा सुरक्षा महशुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको जस्ता विषय कांग्रेस केन्द्रीय सदस्यहरुले उठाएका छन्।