कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ। मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । 

केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ। बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भनेपनि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए। सभापति निर्वाचित भएपछि देउवाले गुटगत बैठक राखेका थिएनन्। बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन्।

एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा पटक-पटक बैठक स्थगित हुँदै आएको छ।

कांग्रेसमा अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने र विशेष  महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा विवाद चलिरहेको छ । संस्थापन पक्ष  चुनावका लागि लाग्ने  समयअनुसार महाधिवेशन गर्न सकिनेमा छन् । उनीहरू मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने  अडानमा छन् । 

यसैबिच बुधबार विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्। कांग्रेसका नेता गुरुराज घिमिरेले देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएको जानकारी दिए । कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा ३ महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । १४ औं महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए । 

सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेकाले आजको बैठक खड्काको अध्यक्षतामा बस्न लागेको हो।