राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल बिच भेटवार्ता भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायाण दाहाल जेनेभामा हुने विश्वभरका सांसदहरुको महासभा अन्तर व्यवस्थापिका संघ आईपीयूको १५१ औं सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुँदैछन् । यो विषयमा जानकारी गराउन दाहाल सितलनिवास पुगेका हुन् ।
सम्मेलनमा भाग लिन दाहाल यही ३१ असोजमा जेनेभा प्रस्थान गर्नेछन् । दाहाल नेतृत्वको टोलीमा राष्ट्रिय सभा सदस्य र कर्मचारी गरेर थप पाँच जनाले टोली जेनेभा जानेछ।
यो विषयमा गत आइतबार राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग समेत छलफल गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा आईपीयूमा उठाउने विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री कार्कीले बदलिएको पछिल्लो अवस्थाबारे राम्रोसँग विषय राख्न अध्यक्ष दाहाललाई सुझाव दिएकी छन् ।
‘अन्तर्राष्ट्रिय फोरमहरूमा जानुपर्छ, नेपालको अवस्थाबारे राम्रोसँग धारणा राख्नुपर्छ’, प्रधानमन्त्रीले भनेकी थिइन् । राष्ट्रपति पौडेल सँगको भेटका क्रममा राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत छलफल भएको सितल निवास स्रोतले बताएको छ ।





