संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए दश दलको बैठक

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा छलफल गर्न १० वटा राजनीतिक दलका नेताहरूको बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको छ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई बैठकमा आमन्त्रण गरिएको छ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेपछि यस मुद्दामा कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरूको धारणा बुझ्न सभामुख घिमिरेले यो बैठक आयोजना गरेका हुन्।

बैठकमा दलहरूको राय लिएर अगाडिको रणनीति बनाइने अधिकारीले बताए। यसैगरी, सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको छुट्टै बैठक पनि बोलाएका छन्।