नेपाली कांग्रेस देउवा नेतृत्वमा चुनावमा जान सक्दैन: प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा वि.सं. २०८२ फाल्गुन २१ गते हुने भनिएको आगामी चुनावमा कांग्रेस जान नसक्ने बताएका छन्।

पछिल्लो समयको पार्टी र देशको अवस्थालाई मध्यनजर गर्दै पौडेलले कांग्रेस दोस्रो पुस्ताको नेतृत्वमा मात्रै चुनावमा जान सक्ने दाबी गरे। उनले देउवाले विगतमा पार्टी र देशका लागि गरेका कार्यहरूको प्रशंसा गर्दै अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

“शेरबहादुर देउवाजीले पार्टीको नेतृत्व गरेको ३० वर्ष भइसक्यो,” नेता पौडेलले भने, “अब दोस्रो पुस्ताको पालो आएको छ। वर्तमान परिस्थितिलाई हेर्दा नयाँ नेतृत्वले मात्र कांग्रेसलाई चुनावमा सफलता दिलाउन सक्छ।”

पौडेलको यो भनाईले नेपाली कांग्रेसभित्र आसन्न महाधिवेशन र आगामी निर्वाचनअघि नै नेतृत्व परिवर्तनको बहसलाई थप चर्काएको छ। कांग्रेसका युवा नेताहरूले जेन जी आन्दोलन पछी पार्टी नेतृत्वमा पुस्तान्तरणको माग उठाउँदै आएका छन्।