संसद् विघटन देश हितका विरुद्ध छ, २१ फागुन पर्खदैनौं: केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् ।भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला, संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्‍यो फागुन २१ गते ? पर्खनु परेको छैन ।’

प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास गरे उनले भने, ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ ।’

सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गरे । ‘असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्‍यो ? कहाँबाट प्राप्त गर्यो ?’ उनले भने ।

संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए । ‘संविधान र संसद् कायम राखेर निकास खोजौं, त्यसमा त्यति बेलाको निर्णायक तत्वहरूको पनि सहमति थियो,’ ओलीले भने, ‘मसँग कुरा हुँदा संविधान कायम राख्ने संसद् कायम राख्ने र संविधान र संसद्भित्रबाट निकास खोज्ने सबैको सहमति थियो ।’