कात्तिक १७ गतेका लागि तय गरिएको मनाङ प्रदेशसभा सदस्यको उपनिर्वाचन स्थगित भएको छ।
आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच बसेको छलफलपछि उपनिर्वाचन हाललाई नगर्ने सहमति बनेको हो । आयोगले उत्पन्न राजनीतिक र विपदजन्य परिस्थितिलाई दृष्टिगत गर्दै निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलेसँग कुरा गर्दै उपनिर्वाचन स्थगित गरिएको पुष्टि गर्दै अब नयाँ मिति तोक्ने तयारी भइरहेको जानकारी दिए ।
यसअघि आयोगले उपनिर्वाचनका लागि असोज २२ र २३ गते दल दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको थियो । तर, जेन जी आन्दोलनपछि उत्पन्न अस्थिरता र पछिल्लो समय देखिएको विपदका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको भण्डारीले बताए ।
यता प्रतिनिधिसभा विघटनसँगै रुपन्देही–३ को प्रतिनिधिसभा उपचुनाव यसअघि नै रद्द भइसकेको छ ।
निर्वाचन आयोगले यथाशीघ्र समुचित परिस्थिति मूल्यांकन गरेर उपयुक्त समयमा नयाँ मिति घोषणा गर्ने जनाएको छ ।