जेनजी मुभमेन्ट नेपालले गर्याे असोज २३ मा प्रदर्शनको घोषणा

जेनजी मुभमेन्ट नेपालले असोज २३ अर्थात् अक्टोबर ९ मा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ । असोज २३ मा कुनै आन्दोलन कार्यक्रम नरहेको भन्दै जेनजी अलायन्ससहितका समूह र व्यक्तिहरूले सार्वजनिक धारणा दिइरहेका बेला उक्त मुभमेन्टले आन्दोलनको घोषणा गरेको हो ।

जेनजी मुभमेन्टले आफ्नो लेटरहेडमा जारी गरेको विज्ञप्तिमा अन्तरिम सरकारमाथि प्रश्न उठाइएको छ । सरकारले लाचार भएर सस्तो लोकप्रियतामा मात्रै ध्यान दिइरहेको र केही छानबिन तथा केही पक्राउ गरेर जनतालाई अल्मल्याउने प्रवृत्ति अब नचल्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मुलुकलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीतर्फ लैजानुपर्ने मागसहित आन्दोलनको आह्वान गरिएको छ ।

उक्त समूहले आन्दोलन र संघर्ष शान्तिपूर्ण हुने दाबी गरेको छ । तर, आवाज दबाउन खोजिए वा बलिदानका घटनालाई तोडमोड गर्ने प्रयास भएमा प्रतिवाद गर्ने चेतावनीसमेत दिइएको छ ।