दसैँमा टीका-जमरा नलगाउने प्रधानमन्त्री कार्कीको घोषणा

 प्रधानमन्त्री सुशीला कार्कीले बडादसैंमा टीका र जमरा नलगाउने भएकी छिन् । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा थुप्रै युवाहरूले ज्यान गुमाएको पीडालाई सम्मान गर्दै प्रधानमन्त्री कार्कीले यो निर्णय लिएकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले टीका-जमरा नलगाउने र देशवासीलाई पनि यस वर्ष टीका नलगाउन आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘बडादसैं प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवा पुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैंको टीका जमरा नलगाउनु हुने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ ।’

प्रधानमन्त्री कार्कीले दसैंको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी छिन् । उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय एकता र सहिष्णुताको भावनालाई थप सुदृढ पार्न आग्रह गरेकी छिन् ।

यसैबीच, प्रधानमन्त्रीको सचिवालयले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न र जनताको अभिमतलाई सम्मान गर्न सरकार तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न कटिबद्ध छ ।’