अर्थ मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा नेताका निवासमा भेटिएको भनिएको पैसाबारे अनुसन्धान भइरहेको बताएको छ।
स्रोत नखुलेको र निवास वा अन्यत्र लुकाइराखिएको रकमबारे सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको अर्थ मन्त्रालयले १२ असोजमा प्रकाशन गरेको सूचनामा उल्लेख छ।
‘जेन-जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगदसमेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ।
सरकारले सेवा वा वस्तुको खरिदबिक्री तथा कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको छ। विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकाले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नुनपर्ने मन्त्रालयको सूचनामा उल्लेख छ।
अर्थ मन्त्रालयले आफ्नो जुनसुकै कारोबार सम्भव भएसम्म विद्युतीय भुक्तानीमार्फत नै गर्न भनेको छ।
कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने कानुनी व्यवस्था छ।
कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद कहीँकतै भेटिएको अवस्थामा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको अर्थ मन्त्रालयले जनाएको छ।