जेनजीले भन्यो-संविधान मान्दैनौँ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहियो

राष्ट्रपतिसँग वार्ता गर्न गठित जेनजी वार्ता समितिले अन्तरिम संविधान निर्माण गरी कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने माग राखेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्यहरूले यो प्रस्ताव अघि सारेका हुन् । वार्ता टोलीका सदस्य प्रवेश दाहालले राष्ट्रपतिसँग छलफल गरी आन्दोलनलाई शान्तिपूर्ण रूपमा टुङ्ग्याउन चाहेको बताए ।

उनले वर्तमान संविधान आफूहरूले नमान्ने स्पष्ट पारे । दाहालले भने, ‘यो संविधान सरकारले खारेज गर्न सक्छ । सरकारसँग अन्तरिम संविधान बनाउने अधिकार छ । आन्दोलनले राजतन्त्र त हटाएको थियो, अब प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचनमा कुनै बाधा छैन । यो संविधानअनुसार सरकार बनेको होइन, यो असंवैधानिक रूपमा गठन भएको सरकार हो । त्यसैले अन्तरिम संविधान बनाएर भए पनि प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्छ ।’