धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उनले ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि असोज ७ गते आयोगमा निवेदन पेस गरेका हुन् । आयोगका एक उच्च अधिकारीका अनुसार साम्पाङ स्वयं पार्टी अध्यक्ष रहने गरी निवेदन दर्ता गरिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार माटोको ढिस्को चुनाव चिह्नसहित साम्पाङले निवेदन दिएका हुन् । उनका अनुसार दल दर्ताका लागि आवश्यक थप कागजात पेश गर्नका लागि आग्रह गरिएको छ ।
धरानको खानेपानी मुद्दामा संघर्ष गरेका साम्पाङ सोही मुद्दाका कारण स्वतन्त्र रुपमा मेयर पद जितेका थिए। मेयर भएपछि उनले धरानमा श्रमदान गरी पानीको व्यवस्थापन गरेका छन्।
आयोगका अनुसार चालु आर्थिक वर्षमा हालसम्म श्रम संस्कृति पार्टीसहित ३ वटा दल दर्ताका लागि निवेदन परेको छ । चालू आर्थिक वर्षको सुरुमा उज्यालो नेपाल पार्टी दर्ताका लागि पनि निवेदन दर्ता भइसकेको छ । त्यस्तै नेपाल नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ ।
साथै, चालू आर्थिक वर्षमा दल दर्ताका लागि निवेदन परेका ३ वटा निवेदनमाथि अहिले जाँचबुझ भइरहेको आयोगले जनाएको छ ।