मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने, कृष्णा यादव मुख्यमन्त्री बन्दै

 मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको लागि चार दलबिच सहमति भएको छ ।  सत्तारुढ दुई दलले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो ।

कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्ने चार दलबिच सहमति भएको जनाइएको छ ।  विभिन्न चरणको छलफलपश्चात् कांग्रेसलाई नेतृत्व दिन अन्य दलहरू सहमत भएका हुन् ।  पुरानै समीकरणमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख काठमाडौमा  रहेकाले उनी आएपछि  बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि पत्र पेस गरिनेछ । 

नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपाले आजै  हस्ताक्षर बुझाउने तयारी गरेका छन् । मुख्यमन्त्री कांग्रेसलाई दिने सम्झदारी भए पनि कुन पार्टीलाई कतिवटा मन्त्रालय दिने त्यसमा भने सहमति भएको छैन । 

जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो, मुख्यमन्त्री आफै सांसद रहेको पार्टीले उनलाई सरकारबाट बाहिरिन भनेपछि कांग्रेसले गत बुधवार सरकारबाट समर्थन फिर्ता लिएको थियो । 

मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ । नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ (एकजना निलम्बनबाहेक)जनमतको १३, लोसपाको ८ जना (एक निलम्बनबाहेक) का सांसद छन् । यो सङ्ख्यालाई आधार मान्ने हो भने नयाँ सरकार निर्माणका लागि पर्याप्त बहुमत छ ।