भ्रष्टाचार र बेथिति विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ ।
शनिवार काठमाडौँको माइतीघर मण्डलामा भेला भई राप्रपाका नेता–कार्यकताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो लेखेको कालो टिसर्ट लगाएर विरोध गरेका छन् ।
उनीहरूले भ्रष्टाचारीलाई कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दुराष्ट्र, संविधानको पुनःलेखन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने माग राखेका छन् । ७५ जनाको बलिदान, फेरि यही संविधान, देशलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर, जेन जीका हत्यारालाई कारबाही गर, २०४६ सालपछिका उच्चपदस्थ पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।
जेन जी आन्दोलनमा मृत्युवरण गरेका परिवार र देशको परिवर्तनको लागि लडेका युवाहरूको साथमा राप्रपा रहेको बताए । विरोध प्रदर्शनका क्रममा कुराकानी गर्दै राप्रपाकी नेतृ खुम्बु ओलीले विविध विकृति अन्त्यको माग राख्दै आफूहरू सडकमा आएको बताए । राजनीतिक दलका नेताहरूले पुनः टाउको उठाउने प्रयास गर्नु जेन जी आन्दोलनलाई दबाउनु रहेको बताए । अन्तरिम सरकारलाई जेन जी क्रान्तिको भावना विपरीत नजान र शहीदको रगतको नजरअन्दाज नगर्न चेतावनी दिए ।
उनले अन्तरिम सरकार क्रान्तिको भावना विपरीत जान खोजेको भन्दै आपत्ति जनाए । अन्तरिम सरकारले जेन जी आन्दोलनमा दमन गर्न आदेश दिनेहरूमाथि कारबाहीका लागि कुनै पहल नगरेको, भ्रष्टाचार छानबिनका लागि कुनै आयोग गठन नगरेकाले पनि जेन जी आन्दोलनप्रति अन्तरिम सरकार जिम्मेवार नरहेको ठहर हुने निष्कर्ष रहेको बताए ।