सेना प्रमुखले प्रधानमन्त्री अफर गरे, मैले अस्विकार गरे : दुर्गा प्रसाईँ

 मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेपाली सेनाका प्रमुखले आफुलाई प्रधानमन्त्री बन्न अफर गरेको दाबी गरेका छन् ।

काठमाडौंबाट झापा पुगेका उनलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईँले जेनजी आन्दोलनपछि प्रधानसेनापति अशोकराज सिक्देलले आफूलाई पहिलोपटक प्रधानमन्त्रीको अफर गरेको दाबी गरेका हुन् ।

यद्यपी उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको दाबी गरे । ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदा हुँदै एक्का किन चलाउनु ?’, उनले भने ।

आफू ‘एक्का’ भएको जिकिर गर्दै उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र पनि आफू नै भएको दाबी गरे । ‘दुर्गा प्रसाईँले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेन्डा लागू हुनुपर्छ,’ उनले भने

साथै प्रसाईँले देशले गरिबका घरमा बडीगार्डबिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।