प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६:०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ४:०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ।

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो। गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको जगमा अन्तरिम सरकारको नेतृत्व सम्हालेको थिए।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ। हालै तेस्रो पटक मन्त्रिमण्डल विस्तार भएको यस सरकारको प्रमुख कार्यभार आगामी छ महिनाभित्र स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु रहेको छ।