राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच शीतल निवासमा बुधबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवनमा सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा गहन छलफल गरिएको राष्ट्रपति सचिवालयले जनाएको छ । 

भेटवार्ताको क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको सुशासन र निष्पक्षता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सुरक्षा संयन्त्रलाई थप सक्रिय र जिम्मेवार बनाउन आवश्यक रणनीतिबारे जानकारी गराएकी थिइन् । 

राष्ट्रपति भेट्नुअघि प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

त्यसअघि मंगलबार साँझ उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गरी निर्वाचन सुरक्षाका पक्षमा आवश्यक समन्वयबारे छलफल गरेकी थिइन् ।