रास्वपाको केन्द्रीय समिति बैठक स्थगित, भोलि फेरि बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । मंगलबारबाट केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुनः बस्ने भएको हो ।

आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पछिल्लो जेन जेड प्रदर्शनका क्रममा नख्खु कारागार पुगेका नेताहरूबारे आपत्ति जनाएका छन् । सभापति रवि लामिछाने कारागारबाट छुट्ने भएपछि केन्द्रीय नेताहरूसमेत नख्खु कारागार पुगेका थिए । प्रवक्ता मनिष झाले आगजनीमा संलग्न टोलीलाई उक्साएको भिडियो समेत भाइरल बनेको थियो ।

सो विषयमा दिउँसो आयोजित पत्रकार सम्मेलनमा झाले आपत्ति जनाएका थिए । यद्यपि बैठकमा भने अधिकांश नेताहरूले प्रश्न उठाएका छन् । ‘कारागार अगाडि पुगेका नेताहरूको बारेमा बैठकमा आफ्ना धारणा राख्नेमध्ये ८० प्रतिशतले आपत्ति जनाएका छन्,’ एक केन्द्रीय सदस्यले बताए ।

त्यस्तै, जेन जेड आन्दोलनको स्वामित्व पार्टीले लिन नसकेकोप्रति पनि अधिकांश नेताहरूले टिप्पणी गरेका थिए । केही नेताहरूले रुपन्देहीमा उम्मेदवार छनोट प्रणालीको मतपरिणाम किन सार्वजनिक गरिएन ? भन्दै प्रश्न गरेका थिए । केही प्रदेश इन्चार्जको भूमिकाबारे पनि प्रश्न उठेको छ ।