सपथ ग्रहणको मुखै बाट खोसियो डा. संगीता मिश्राको मन्त्रीपद

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा गरेकी डा. संगीता मिश्राले पाइसकेको स्वास्थ्यमन्त्री पद खोसिएको छ।

उनको पद खोसिएपछि चार जनाले मात्र शितल निवासमा सोमबार मन्त्री पदको शपथ लिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न उजुरी रहेका कारण मिश्रालाई प्रधानमन्त्री सुशीला कार्कीले दिइसकेको स्वास्थ्यमन्त्रीको पद तत्कालका लागि स्थगन गरिन्।

शितल निवासमा पुगिसकेको नाम काटिएपछि शपथ एक घन्टा ढिलोगरी भएको थियो। उनीसँगै मन्त्रीका लागि सिफारिस भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई राष्ट्रपति पौडलले शपथ खुवाए। 

नवनियुक्त मन्त्रीमा डा. मिश्राको नाम विवादमा परेपछि शपथको समय एकदिन पर सारिएको थियो।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा डा. मिश्राले म्यामोग्राम मेसिनविनाको बक्सा मात्र हस्तान्तरण गरेर रकम भुक्तानी लिएको र मेडिकल उपकरण खरिदका अन्य फाइलबारे पनि अख्तियारले अनुसन्धान गरिरहेका कारण उनको नाम काटिएको बताइन्छ।