माओवादी पुनर्गठन गर्न प्रचण्डद्वारा ४ बुँदे प्रस्ताव

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठनका लागि ४ बुँदे प्रस्ताव अघि सारेका छन् ।

आइतबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा उनले केन्द्रीय समिति र सबै संरचना विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने र मङ्सिरभित्र विशेष महाधिवेशन गर्ने सुझाव दिए ।

उनको प्रस्तावअनुसार नयाँ संरचनामा युवाको बहुमतसहित महिला, दलितलगायतलाई समेट्ने संकल्प तयार गर्ने र महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित अध्यक्षसहित पदाधिकारी चयन हुने व्यवस्था गर्ने भनिएको छ ।

चुनाव र महाधिवेशनको तयारी सँगसँगै लैजाने, नयाँ र लोकप्रिय उम्मेदवारलाई अघि सार्ने तथा फागुन २१ को निर्वाचन सफल बनाउन वातावरण बनाउनुपर्ने पनि प्रचण्डको प्रस्ताव छ ।

बैठकमा उनले जेनजी आन्दोलनपछिको परिस्थितिबारे चर्चा गर्दै मुलुक सम्हाल्ने जिम्मा माओवादीकै काँधमा रहेको बताए ।

कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्तै व्यवस्थाले संकट टार्न सक्ने उनको भनाइ थियो ।