संविधान दिवसको अवसर पारेर नेकपा (एमाले) ले पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार बिहानदेखि सुरु भएको यस कार्यक्रमको अध्यक्षता पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरिन् । उनले भनिन्, ‘शोकलाई शक्तिमा बदल्नुपर्छ। निराश हुन जरुरी छैन, हामीसँग संविधान छ ।’
यसअघि ‘जेनजी’ प्रदर्शनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा उपस्थित छैनन् । लामो समयदेखि सेनाको सुरक्षा घेरामा रहेका ओली बिहीबार मात्र सार्वजनिक भएका थिए । उनको अनुपस्थितिप्रति विभिन्न टिकाटिप्पणी भइरहे पनि पार्टीले संविधान दिवसलाई विशेष महत्वका साथ मनाएको छ ।
कार्यक्रममा पार्टीका अन्य शीर्ष नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ। उनीहरूले संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिएका छन्। यस कार्यक्रमले एमालेको आन्तरिक एकता र भावी दिशालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।





