तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न तयार छौं : निर्वाचन आयोग

निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न पूर्ण तयारी गरेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढाएको बताएका छन् ।

बिहीबार नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आयोगको प्रतिबद्धता दोहोर्‍याए । भण्डारीले भने, निर्वाचन समयमै सम्पन्न गर्न आयोग तयार छ । यसका लागि आवश्यक पूर्वतयारी सुरु भइसकेको छ । सबै जिल्ला र प्रदेश निर्वाचन कार्यालयहरूमा तयारी पूरा भएको छ, र कर्मचारीहरू खटिसकेका छन् ।’

उनले सबै दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई निर्बाध रूपमा प्रचारप्रसार र आफ्ना धारणा राख्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिस्पर्धात्मक रूपमा सामग्री खरिद र व्यवस्थापनमा ध्यान दिइने बताए । ‘हामी निर्वाचन आयोगको निष्ठामाथि शङ्का गर्ने ठाउँ दिनेछैनौँ,’ उनले भने ।

 यद्यपि, उनले मुलुकमा शान्ति-सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको र कतिपय स्थानमा सुरक्षाकर्मी बस्ने भवन र प्रमुख जिल्ला अधिकारी कार्यालयहरू क्षतिग्रस्त रहेको औँल्याए । भण्डारीले सरकारले चाँडै अध्यादेश ल्याएमा कानुनी अवरोध हटेर मतदाता नामावली संकलनलगायत कार्यमा सहजता आउने बताए । आयोगले सबै सरोकारवालासँग सहकार्य गर्दै मितव्ययी र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।