सरकारले जेनजी आन्दोलनमा शहिद भएकाका परिवारलाई जनही १ लाख किरिया खर्च दिने

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई जनही १ लाख किरिया खर्च दिने बताएका छन्। सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले यही भदौ २३ र २४ गते भएका घटनामा मृत्यु भएकाहरूको परिवारलाई काजकिरियाका लागि १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने बताएका हुन्।

मन्त्री अर्यालले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने र शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिए। यसैगरी मन्त्री अर्यालले मृतकको शव घर ठेगानासम्म पुर्‍याउन सरकारले नै व्यवस्था गरिदिने बताए।

उनले जेनजी आन्दोलनका क्रममा भएका घटनामा अनुसन्धान गर्न छानविन समिति गठन गर्ने बताए। जेनजी समूहको आन्दोलनका क्रममा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन्। सयौं घाइतेहरुको  विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जेनजी समूहको सिफारिसमा अर्याल गृह तथा कानुन मन्त्री बनेका हुन्। उनले आज बिहान शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारमा पद बहाली गरेका हुन्।

मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी,प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए।