नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार अर्थमन्त्रीमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन् । सोमबार दिउँसो उनी सिंहदरबार, अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
अर्थ प्रशासनका विज्ञ मानिने खनाल पूर्व अर्थ सचिव हुन् । उनी मन्त्रालयमा रहँदा आर्थिक सुधारको पक्षमा निक्कै सुधारका काम गरेका थिए । खनालले गरेका केही सुधारात्मक काम नेपाली आर्थिक इतिहासकै महत्वपूर्ण उपलब्धि मानिन्छन् । नवनियुक्त अर्थमन्त्री खनालले वित्तीय अनुशासन, राजस्व संकलन, लगानी वातावरण र समग्र आर्थिक पारदर्शितामा गहिरो छाप छोड्ने काम गरेका छन् ।
यसअघि प्रत्येक पटक राष्ट्र बैंकको गर्भनर नियुक्तीको समयमा उनको नाम जोडिने गरेको थियो । धेरैले उनलाई गर्भनरको रुपमा देख्न चाहेका थिए । तर, राजनीतिक भागबण्डाको कारण उनले त्यो जिम्मेवारी पाउन सकेका थिएनन् । यद्यपी जेनजी प्रदर्शन पछि उनले मुलुकै ढुकुटी सम्हाल्ने जिम्मेवारी पाएका छन् । अर्थमन्त्री खनालले निजी सुरक्षागार्ड, सवारीसाधन लगायतका सुविधा नलिने भएका छन् ।
उनको पदभार कार्याक्रममा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि उपस्थित भएका हुन् ।





