रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट रहेकी श्रेष्ठले पार्टी छाडेको उनको सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

उनले तीन विषयमा असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेकी छन् । जसमा सुमनाले आफूमाथि मिडिया ट्रायल गरेको, आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको बताएकी छन् ।

‘कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ,’ उनले भनेकी छन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । QUIT मैले पार्टी छोडेँ ।’

साथै उनले कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई बेलैमा सच्चिन आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘कांग्रेस, एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

पछिल्लो केहि दिनयता सुमना अहिले बनेको नयाँ सरकारमा मन्त्री बन्ने तयारीमा रहेको चर्चा छ । तर, उनले यस विषयमा जेनजीलाई आफ्नो समर्थन रहेपनि सरकारमा सहभागी नहुने बताउँदै आएकी छन् । सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन् । उनी रास्वपाबाट निवर्तमान सांसद हुन् ।