नाउपाका संस्थापक रेशम चौधरीद्वारा पार्टी परित्याग

गरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले अब आफू उक्त पार्टीसँग सम्बन्धित नरहेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष भिडियो सन्देश दिँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।

वि.सं. २०७८ पुसमा चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी, टीकापुर घटनापछि जन्मिएको राजनीतिक स्वरुप हो। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय काटिरहेका बेला नै उनले जेलभित्रै पार्टीको गठन गरेका थिए। पार्टीको संरक्षक बनेका रेशमले आफ्नी पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेका थिए।

रेशम चौधरीले आफ्नो सन्देशमा भनेका छन्, ‘आजबाट म नाउपाबाट अलग भएको घोषणा गर्दछु। उन्मुक्ति पार्टीमा म आजबाट हुन्न। अलग अभियानको घोषणा गर्छु। मसँगै मेरा भावना, मेरो आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’

उनले ‘जेनजी युवा आन्दोलन’लाई नैतिक समर्थन दिँदै त्यसबाट उत्पन्न नयाँ राजनीतिक चेतनालाई अगाडि बढाउने प्रयासस्वरूप ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक पार्टी घोषणा गरेका थिए।

संघ र प्रदेश गरी नाउपाका ११ जना सांसद छन्। संघमा मात्र चार सांसद छन् भने सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा पार्टीको उपस्थिति देखिन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा भएपछि रेशम चौधरी र उनकी पत्नी रञ्जिता श्रेष्ठबीच राजनीतिक मतभेद सतहमा आएको देखिन्थ्यो। २०८० पुसमा उनले पहिलो महाधिवेशनमार्फत आफूलाई अध्यक्षमा निर्वाचित गराए पनि निर्वाचन आयोगले त्यसलाई वैधता नदिएको थियो।

पछि, २०८२ साउन १४ गते उनले राष्ट्रिय भेला आयोजना गरेर पत्नी रञ्जितालाई अध्यक्ष पदबाट हटाई आफ्नै पिता लालवीर चौधरीलाई अध्यक्ष बनाएका थिए। तर, आयोगले उक्त प्रक्रिया पनि अस्वीकृत गर्‍यो। आयोगका अनुसार लालवीर चौधरी संस्थापक २१ जनामध्ये परेनन् र भेला बोलाउने अधिकार अध्यक्षसँग मात्र हुने भएकाले त्यो प्रक्रिया वैध ठहर भएन।