मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले जेन जीको बलिदानलाई धोका दिन खोजिएको टिप्पणी गरेका छन् । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने तयारी चलिरहेको बेला प्रसाईँले यस्तो टिप्पणी गरेका हुन् ।
यही व्यवस्था, संविधान, संसद् र राष्ट्रपतिलाई मान्ने हो भने जेन जी आन्दोलन कि गरियो भन्ने प्रश्न प्रसाईँको छ । “जेन जीको बलिदानलाई धोका दिन पाइँदैन । संविधान यही, संसद् यही, राष्ट्रपति यही, व्यवस्था यही, यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ति कलिला बच्चाको हत्या किन भयो ?”, प्रसाईँको प्रश्न छ, “ ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?”
देश जोगाउने जिम्मा सेनाको भएको भन्दै उनले राष्ट्रपति र संविधानलाई निलम्बन गरी अन्तरिम सरकार घोषणा गर्न प्रसाईँको माग छ । “आज फेरि देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ । राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ”, उनले भनेका छन्, “नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ, हाम्रो पुस्ता सरापिनेछ र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ ।”
यस्तो छ प्रसाईँको फेसबुक स्ट्याटस
जेन जीको बलिदानलाई धोका दिन पाइँदैन । संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ति कलिला बच्चाको हत्या किन भयो ? ५० खर्बभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?
हिजो पनि पश्चिमहरूको डिजायनमा नयाँ संविधान घोषणा भयो — हिन्दु राष्ट्र गयो, मुलुक धर्मनिरपेक्ष बनाइयो र सबैले मिलेर राज्य लुटे । श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह र नेपाली सेनाले यो देशलाई एकीकरण गरेका हुन् । त्यसैले आज फेरि देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ । राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ । नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ, हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ ।
समय छ — सबैले अहिले नै सोच्नुपर्छ । संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता दिएका छैनन्, नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएका छन् ।





